`

आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

Nepal One HD ८ मंसिर २०८३ १२:०६
प्रमुख खबर

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय अदालत पुगेको छ । उक्त नियुक्ति कानुन र निर्धारित प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ ।

अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दायर गरेका हुन् । उनीहरूले आनीको नियुक्ति गैरकानुनी रहेको जिकिर गर्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।

रिट निवेदनमा डोल्मासँग सम्बन्धित नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा नियुक्ति गरिएको विषयलाई समेत आधार बनाइएको छ । कानुनी प्रक्रिया र विधिको शासनविपरीत भएको भन्दै नियुक्तिको वैधानिकता परीक्षण गर्न सर्वोच्चसँग माग गरिएको छ ।

अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै संगठनले यसअघि पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । पटक–पटक खबरदारी गर्दा पनि सरकारले त्यसलाई बेवास्ता गरेको उनको आरोप छ ।

अभियानले सार्वजनिक चासो र उठाइएका कानुनी प्रश्नलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई दलबलसहित लुम्बिनी विकास कोषमा उपस्थित गराएर कार्यभार सम्हाल्ने वातावरण बनाएको आरोपसमेत लगाएको छ ।

नियुक्तिको कानुनी वैधता परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न अदालतको ढोका ढकढक्याइएको अभियानले जनाएको छ ।

उक्त रिटमाथिको सुनुवाइका लागि भोलि ९ गतेको पेशी तोकिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *