आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं। लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रिय जेन्जी नागरिक अभियानले नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो । नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कानुनी विधि र प्रक्रिया पूरा नगरी नियुक्ति गरिएको अभियानको दाबी छ ।
अभियानले यसअघि पनि नियुक्तिको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । पटक-पटक खबरदारी गर्दा पनि सरकारले त्यसलाई बेवास्ता गरेको र आनि छोइङ डोल्मालाई सुरक्षाकर्मीसहित लुम्बिनी विकास कोषमा उपस्थित गराएर कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको आरोप छ ।
नियुक्तिको कानुनी वैधता परीक्षण, विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि अदालतको ढोका ढकढक्याइएको अभियानले जनाएको छ ।
रिट निवेदकमा अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटी रहेका छन् ।
