लक्ष्यभन्दा २४ प्रतिशत बढी राजस्व उठायो गौर भन्सारले
काठमाडौं । सीमा क्षेत्रमा हुने चोरी निकासी र भन्सार छली नियन्त्रणमा कडाइ गरिएपछि गौर भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा माथि पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै कार्यालयले निर्धारित लक्ष्यभन्दा २४.३७ प्रतिशत बढी राजस्व उठाएको छ ।
साउनदेखि कात्तिक मसान्तसम्म गौर भन्सारले १६ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चार महिनाका लागि तोकिएको लक्ष्यभन्दा करिब चार करोड रुपैयाँ बढी राजस्व उठेको कार्यालयको तथ्यांक छ ।
महिनागत विवरण हेर्दा साउनमा ३ करोड १५ लाख रुपैयाँको लक्ष्य राखिएकोमा ३ करोड ५८ लाख ३३ हजार संकलन भएको थियो । भदौमा भने ३ करोड ६० लाखको लक्ष्यविरुद्ध ३ करोड २४ लाख ८ हजार रुपैयाँ मात्रै उठ्यो ।
तर असोजदेखि राजस्व संकलनले गति लियो । असोजमा ४ करोड ५० लाखको लक्ष्य हुँदा ५ करोड ९७ लाख ३९ हजार रुपैयाँ संकलन भयो । कात्तिकमा २ करोड ७० लाखको लक्ष्यलाई उछिन्दै ३ करोड ९९ लाख २३ हजार रुपैयाँ राजस्व उठ्यो ।
भदौमा लक्ष्य भेट्टाउन नसकेको भन्सारले असोज र कात्तिकमा भने लक्ष्यभन्दा निकै बढी राजस्व संकलन गरेपछि चार महिनाको समग्र उपलब्धि सकारात्मक बनेको हो ।
कार्यालयका अनुसार सीमा क्षेत्रमा हुने अवैध आयात–निर्यात नियन्त्रण, चोरी निकासी तथा पैठारी रोक्न गरिएको संयुक्त निगरानीले राजस्व वृद्धिमा सहयोग पुर्याएको छ । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा नियमित गस्ती तथा अनुगमन बढाइएको छ ।
गौर भन्सार प्रमुख शुवन शर्माका अनुसार विभिन्न निकायको सक्रियता र समन्वयका कारण भन्सार छलीका गतिविधि नियन्त्रणमा सहयोग पुगेको छ । अवैध कारोबार न्यूनीकरण हुँदा सरकारी राजस्वमा पनि सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
सीमावर्ती क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण भन्सार प्रशासनका लागि लामो समयदेखिको चुनौती हो । पछिल्लो तथ्यांकले गौर भन्सारको राजस्व संकलनमा सुधार देखाए पनि यो उपलब्धि आगामी महिनामा पनि कायम राख्नु चुनौतीपूर्ण हुनेछ ।
