`

साताको अन्तिम कारोबारमा सेयर बजार राताम्मे

Nepal One HD १० मंसिर २०८३ १५:५५
अर्थ समाचार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा पुनः गिरावट आएको छ ।

अघिल्लो दिन सामान्य सुधार देखिएको बजार बिहीबार फेरि ओरालो लाग्दा नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ ।

बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भयो ।

कारोबार भएका कम्पनीमध्ये १७९ वटाको सेयर मूल्य घट्दा ८६ वटाको मात्रै बढेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन । यसले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ताको चाप बढी रहेको देखाएको छ ।

समूहगत परिसूचकमा पनि अधिकांश क्षेत्र राताम्मे बने । लगानी समूह ०.७२ प्रतिशतले बढेर हरियो रहँदा व्यापार समूह सबैभन्दा बढी १.५२ प्रतिशतले घट्यो ।

बैंकिङ समूह ०.९३, होटल तथा पर्यटन ०.६२, निर्जीवन बीमा ०.४२, फाइनान्स ०.४१, विकास बैंक ०.४८ र जीवन बीमा समूह ०.३४ प्रतिशतले ओरालो लागे । उत्पादन तथा प्रशोधन ०.१८, अन्य ०.१३ र जलविद्युत् समूह ०.०९ प्रतिशतले घटेका छन् ।

बुधबार ८.६६ अंकले बढेर केही राहत दिएको बजारले बिहीबार त्यो सुधार टिकाउन सकेन । कारोबार रकम र बढ्ने कम्पनीको संख्या दुवै घट्दा साताको अन्तिम दिन लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *