`

निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा १६ सय उजुरी

Nepal One HD १ फागुन २०७९ ११:४८
प्रमुख खबर

काठमाडौँ – गत मङ्सिर ४ को निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा १६ सय उजुरी परेका छन् ।

मधेस प्रदेशबाट सबैभन्दा धेरै ५५५ र गण्डकी प्रदेशबाट सबैभन्दा कम ९३ उजुरी परेको काँग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ । ४३ जिल्लाबाट केही केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्यलगायत कारबाहीको सिफारिसमा छन् । कारबाहीमा परेका र उजुरी परेका कतिपय नेता माओवादी उम्मेदवार भएका निर्वाचन क्षेत्रमा बागी उम्मेदवार बनेका थिए ।

तत्कालीन पाँचदलीय गठबन्धनलाई असहयोग गरेको भन्दै केन्द्रीय सदस्य दिनेश कोइराला पर्साका पूर्व जिल्ला सभापति अजय द्विवेदी, महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कैलालीका पूर्व जिल्ला सभापति गोविन्दराज जोशीसहित ८५ जनालाई काँग्रेसले कारबाही गरिसकेको छ ।

तर निर्वाचनपछि माओवादी केन्द्र नै काँग्रेससँग गठबन्धनमा नरहेको अवस्थामा पार्टीमा विद्रोह गर्नेलाई के गर्ने भन्नेमा काँग्रेसमा अन्योल छ । काँग्रेसले माघ मसान्त अर्थात आजसम्म चुनावमा अन्तर्घात गर्ने विरुद्ध उजुरी गर्न समय दिएको थियो । देशभरबाट एक हजार ६ सय उजुरी सङ्कलन गरिए पनि ती उजुरीमाथि अध्ययन गर्ने आनन्दप्रसाद ढुङ्गाना संयोजकत्वको अनुशासन समितिले भने अझै पूर्णता पाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *