ज्ञानबहादुर शाहीले भने : विधि र नीतिभन्दा बाहिर मान्छे मार्ने विधेयक ल्याएर कार्यान्वयन गर्न मिल्दैन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले विधि र नीतिभन्दा बाहिर मान्छे मार्ने विधेयक ल्याएर कार्यान्वयन गर्न नमिल्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक फौजदारी अपराधलाई मिलापत्र गर्न मिल्दैन भन्ने विधिशास्त्रको सिद्धान्त विपरित भएको बताएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना राख्दै विधेयक संविधान विपरित भएको भन्दै उनले विधेयकले पीडकलाई उन्मुक्ति दिने र पीडितलाई मिलापत्रको वहानामा अलपत्र छाड्ने जिकिर गरे ।
“विधि र नीतिभन्दा बाहिर मान्छे मार्ने विधेयक ल्याएर कार्यान्वयन गर्न सकिदैन,” उनले भने, “महान्याधीवक्तालाई मानवअधिकारको गम्भीर उल्लंघनको घटनामा कम सजाय माग गर्ने र दिनेखालका असीमित अधिकार दिन खोजिएको छ । जुन पाकृतिक न्यायको सिद्धान्त विपरित छ ।”