प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको सुझाव : क्यान्टोनमेन्टको फाइल पनि खोल्नुस्


काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा नै पुराउने गरी अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
आइतबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनलेको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरूको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानबिनलाई निष्कर्षमै पुराउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एन सेल काण्डजस्तै नक्कली शरणार्थी प्रकरणलाई पनि देखाउनका लागि मात्रै छानबिन गर्न नहुने उहाँले बताउनुभयो ।
उहाँले नक्कली शरणार्थी प्रकरणको छानबिनमा कुनै राजनीतिक स्वार्थ नभए यस विषयमा प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहने स्पष्ट पार्नुभयो । लिङ्देन अव वाइडबडी, एन सेल र ललिता निवासको फाइल पनि खोल्न सुझाव दिनुभयो । त्यस्तै उहाँले क्यान्टोनमेन्ट घोटाला काण्डको फाइल खोलेर आफू चोखो छु भनेर देखाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । उहाँले यदि भ्रष्टचारको डंगुरमा बसेर शुद्धताको मन्त्र मात्रै उच्चारण गर्न खोजेको हो भने लामो समय नपत्याउने बताउनुभयो । देशको अवस्था असामान्य अवस्थातर्फ गइरहँदा पनि देशका नेता सत्ता केन्द्रित राजनीतिमा व्यस्त भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै लिङ्देनले मुलुकको नेतृत्व गर्न सक्ने विकल्पको रूपमा राप्रपालाई स्थापित गर्नुपर्ने भन्दै यसका लागि सङ्गठन र सङ्घर्षलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।