`

अर्थतन्त्रलाई चलायमान बनाउन समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढ्नु पर्छ : अर्थमन्त्री महत

Nepal One HD २६ वैशाख २०८० १३:५६
राजनीति

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि नीति अवलम्बन गरिने बताउनुभयो । उहाँले समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राख्नुभयो । अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि पहिलो दिन देखि महिना महिनामा अनुगमन गर्ने उहाँले बताउनुभयो ।

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गर्नुभयो । उहाँले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले करमा केही घरानलाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गर्नुभयो । उहाँले अनावश्यक साधारण खर्च नगर्ने प्रतिबद्धता सहितको बजेट उन्मुख हुने पनि बताउनुभयो ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थितिलाई मध्यनजर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताउनुभयो । अहिलेको चुनौतीपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया