`

दलितमाथि विभेद गर्नेलाई कारवाहीको प्रक्रियामा ल्याउन उपाध्यक्ष उर्मिला अर्यालको माग

Nepal One HD १८ असार २०८० १४:४०
राजनीति

काठमाडौँ / राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारवाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।

सोमबार राष्ट्रियसभाको बैठकको सुरुमै दलितमाथि हुने विभेद बढ्दै गएको भन्दै सांसदहरुले उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गर्नुभएका राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दलितमाथि विभेद गर्नेलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको हो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सिराहाको भगवानपुरमा सामूहिक भोजमा दलितमाथि भएको बिभेदका बिषयमा पटक पटक कुरा राख्दा पनि दोषीलाई कारवाही हुन नसकेको भन्दै आपत्ती जनाउनुभयो । त्यस्तै उहाले दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको, सप्तरीमा अन्तरजातिय विवाह गर्दा मुद्धा चलाएको लगाएतका घटनाले दलितमाथि अपमान भएको भन्दै उक्त घटनामा पनि दोषीलाई कारवाही हुन नसकेको गुनासो गर्नुभयो ।

उहाले दोषीलाई कारवाही नगर्ने र कानूनलाई पालना नगराउने प्रहरी र सिडिओलाई नै कारवाही गर्नुपर्ने माग गर्नुभयो । यस बिषयमा सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा उपाध्यक्ष अर्यालले जवाफ दिन सरकारलाई रुलिङ समेत गर्नुभयो ।


प्रतिक्रिया