पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ : महामन्त्री थापा


काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा पार्टी लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
“पार्टीको तर्फबाट छिट्टै पर्यटन व्यवसायीसँग बसेर अन्तक्र्रिया तथा छलफल गरेर यसभित्र देखिएका समस्या समाधानमा लाग्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले पर्यटन व्यवसायीले पार्टीलाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।महामन्त्री थापाले पार्टीले पहिलोपटक पार्टीका संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको चर्चा गर्न विपी साहित्य सम्मेलन गर्न लागेको बताउँदै उक्त कार्यक्रममा सहयोग र सहभागिताका लागि पर्यटन व्यवसायलाई आग्रह गर्नुभयो ।कांग्रेस धादिङका पूर्वसभापति एवं पर्यटन व्यवसायी रमेश धमलाले नयाँ आउन लागेको पर्यटन ऐनका बारेमा घनिभूत छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पर्यटन व्यवसायीको कुरा पार्टीले सुन्न थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।लोकतान्त्रिक होटल व्यवसायी सङ्घका संयोजक दीपक महतले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि लोकतान्त्रिक पर्यटन व्यवसायी लागेको भन्दै यसलाई पार्टीले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको कार्यसमितिलाई विस्तार गरेर आफूले निर्वाचन गराउन चाहेको स्पष्ट पार्नुभयो ।वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले कांग्रेसले पर्यटन क्षेत्रलाई बुझ्न नसकेको गुनासो गर्नुभयो । नेपालमा महामारीको समयमा पर्यटन व्यवसायीले खेलको भूमिका राज्यले स्मरण गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पर्यटन व्यवसायी राकेश धमला, खुमबहादुर सुवेदी, कुलबहादुर गुरुङ, नीलहरि बाँस्तोला, गीता गुरुङ, मोहन लम्साल, राजीव पाण्डेलगायतको सहभागिता थियो ।