`

गृहमन्त्री श्रेष्ठद्वारा शिक्षालयको आवासगृह उद्घाटन

Nepal One HD २० भदौ २०८० २०:५१
राजनीति

भरतपुर, २० भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको माडीस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा आवासगृह उद्घाटन गर्नुभएको छ ।

शिक्षालयका शिक्षक र कर्मचारीका लागि निर्माण गरिएका सात वटा आवासगृह आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उद्घाटन गर्नुभएको हो । सो अवसरमा मन्त्री श्रेष्ठले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले माडीको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो शैक्षिक संस्था माडीको गहना हो, यसको विकासका लागि सबैले सहयोग गर्नुपर्छ ।”

उहाँले वर्तमान सरकारले शिक्षालाई प्राथमिकता दिएको भन्दै प्राविधिक शिक्षामार्फत देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

आवास गृहमा शिक्षालयका सेवाकालीन कर्मचारी र शिक्षक बस्नेछन् । करिब रु सात करोडको लगानीमा छुट्टाछुट्टै भवन निर्माण गरिएको शिक्षालय प्रमुख उपेन्द्र पोखरेलले जानकारी दिनुभयो । विसं २०७५ देखि सञ्चालनमा आएको शिक्षालयमा डिप्लोमा तहका सिभिल इन्जिनियर, फार्मेसी, पशु विज्ञान र बाली विज्ञानको अध्यापन हुने गरेको छ ।


प्रतिक्रिया