विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए काठमाडौ महानगरले कारवाही गर्ने


काठमाडौ– काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरी आन्दोलन थालेका छन् । देशभरबाट काठमाडौमा जम्मा भई उनीहरुले माइतीघरमा प्रदर्शन सुरु गरेका हुन् । तर, महानगरपालिकाले भने विद्यालय बन्द स्वीकार्न नसकिने बताएको छ ।
महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा हस्ताक्षरित सूचनामा विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य नहुने उल्लेख छ । विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारबाही हुने र त्यसको जिम्मेवार स्वयम व्यक्ति नै हुने सूचनामा भनिएको छ ।
विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको भएपनि विद्यालय बन्द गरेर निकास ननिस्कने र यसले बालबालिकाको पढाइ मात्रै प्रभावित हुने महानगरको ठम्याई छ । विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरले निर्णय गरेको छ । शिक्षकले तोकिएको आचरण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले बताएको छ ।