युरोप पठाइदिने भन्दै ८० लाख ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ

NepalOne १८ असोज २०८० १२:४४
अपराध

काठमाडौ– प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी वर्कपर्मिट लगायतका नक्कली कागजात देखाएर विश्वासमा पारी ठगी गर्ने योजना बनाएका थिए ।

जाहेरीका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ठमेलमा रहेको होटेल यात्री र डड्डी सुइट्स स्पाबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, वर्कपर्मिट, भिसा लगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको उनको भनाइ छ । उनीहरुले नेपाली ८० लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया