`

इजरायलमा केही विद्यार्थी हताहती भएको हुनसक्छ: परराष्ट्रमन्त्री

Nepal One HD २१ असोज २०८० १३:४७
प्रमुख खबर

काठमाडौ– सरकारले प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने जनाएको छ । आज प्रतिनिधिसभा बैठकमा इजरायलमा रहेको नेपालीको अवस्थाकाबारे जानकारी दिदै परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केहि हताहत भएको हुनसक्ने बताए ।

दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएको उनको भनाइ छ । उनले इजरायलमा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र प्रधानमन्त्रीको अध्यक्षतमा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको जानकारी दिए । संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मुल्याङ्कन गरेर आवश्यक कार्य गरेको उनले बताए । उनले नेपाली राजदूतावासलाई नेपालीको उद्धार गर्न, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिएको उल्लेख गरे । नेपाल सरकार इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको उनको भनाइ छ । इजरायलमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरमा रहेका छन् भने २६५ विद्यार्थीहरु अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।


प्रतिक्रिया