`

आइटिएफ टेनिस : एलेक्सी र आसकुरा च्याम्पियन

Nepal One HD २३ मंसिर २०८० १८:२८
खेलकुद

कास्की, २३ मङ्सिर : नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई पराजित गर्दै रुसियाका एलेक्सी सिबाभएले पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० को दोस्रो सर्किटको उपाधि जित्नुभएको छ ।कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा एलेक्सीले हाडालाई ६–३, ६–२ ले पराजित गरी पुरुष एकलतर्फ च्याम्पियन बन्नुभयो ।

यसैगरी महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन बन्नुभएको छ । उहाँले भारतकी अर्जान खोराकीवालामाथि ६–२, ६–३ को जित हासिल गर्नुभयो ।  यि दुवै खेलाडी जे–३० को सर्किट एकमा पनि विजयी हुनुभएको थियो । च्याम्पियन खेलाडीहरूले आइटीएफको महत्त्वपूर्ण ३०/३० अङ्क प्राप्त गर्नुभयो ।विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको बताउनुभयो ।

यसैगरी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता निर्देशक अजय विष्ट, लगायतले खेलाडीलाई मेडल र पुरस्कार वितरण गर्नुभयो ।


प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गरेका थिए । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको टेनिस वरियता निर्धारण गर्नेछ । विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनलिष्टले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क प्राप्त गरेका छन् ।

पोखरामा दुई साता लामो सञ्चालन भएको आइटिएफ जे ३० टेसिन प्रतियोगितामा ११ देशका एक सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया