जित्नै लागेको खेलको ९७औँ मिनेटमा गोल, रेफ्रीमाथि मुक्का प्रहार


टर्कीको ‘सुपर लीग’ फुटबल प्रतियोगितामा एउटा खेल सञ्चालन गरिरहेका रेफ्री हालिल उमोद मेल्यारमाथि एउटा क्लबका अध्यक्षले मुक्का प्रहार गरेपछि देशभरि सबै लीगहरू निलम्बनमा परेका छन्।
आफ्नो क्लबले ९७औँ मिनेटमा गोल खाएर खेल १-१ को स्थितिमा पुगेपछि ‘एमकेई आङ्कारागुजु’का अध्यक्ष फारुक कोजा दौडिँदै मैदानमा छिरेर रेफ्रीमाथि आक्रमण गरेका थिए।”सबै लीगहरूका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ,” टर्कीको फुटबल सङ्घ टीएफएफका अध्यक्ष मेहमत बुयुकेच्चले भने।
‘टर्कीको फुटबलमा लाजमर्दो रात’
उनले रेफ्रीमाथि भएको आक्रमणलाई “टर्कीको फुटबलमा लाजमर्दो रात”को सङ्ज्ञा दिएका छन्।फिफाका अध्यक्षले पनि उक्त घटना “पूर्णतः अस्वीकार्य” भएको टिप्पणी गर्दै हिंसाका लागि “हाम्रो खेलकुद वा समाजमा ठाउँ” छैन भनेका छन्।
आक्रमण भएपछि भुइँमा लडेका रेफ्री मेल्यारलाई अरू व्यक्तिले पनि कुटपिट गरेका थिए।उनी घाइते भएका छन्, उनको एउटा हड्डी पनि भाँचिएको छ।
आक्रमण गर्ने पदाधिकारी पनि घाइते
त्यसपछि रङ्गशालामा खेलाडी र क्लबका पदाधिकारीहरूबीच घम्साघम्सी भएको थियो।त्यस क्रममा कोजा पनि घाइते भए। उनलाई अस्पताल लानुपरेको थियो।टर्कीका गृहमन्त्री अलि येर्लिकायाका अनुसार उपचारपछि बल्ल कोजालाई “हिरासतमा लिने प्रक्रिया अघि बढाइने छ”।उक्त घटनामा संलग्न भएका अरू मानिसलाई पक्राउ गरिसकिएको उनले बताए।
रेफ्रीबारे हामीलाई के थाहा छ?
सैँतीस वर्षीय मेल्यारलाई टर्कीमा उत्कृष्ट रेफ्रीमध्ये एक हुन्। उनी फिफाका लागि अन्तर्राष्ट्रिय खेलहरू पनि सञ्चालन गर्छन्। उनी यूईएफको विशिष्ट रेफ्रीहरूको सूचीमा पनि समाविष्ट छन्।
आक्रमणमा परेर घाइते भएपछि उनलाई पनि अस्पताल लगिएको छ।उनलाई लगिएको अस्पतालका चिकित्सक डा मेहमेद योरुबुलुदले भने, “उनको जीवनलाई त्यस्तो ठूलो जोखिम छैन। उनको देब्रे आँखा वरिपरिबाट रगत आएको छ र एउटा हड्डी अलिकति चर्किएको छ।”
“टाउकोमा चोट लागेको हुनाले हामी बिहानसम्म उनको अवस्था निगरानी गर्छौँ। आवश्यक परीक्षणहरू गरेपछि हामी उनलाई बिहान डिस्चार्ज गर्छौँ।”समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।