नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडको पहिलो जित


काठमाडौं । नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ । बुधबार दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलले हरायो ।
इन्ज्युरी समयको आठौँ मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएको हो । खेलको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा आशिष चापागाईँको गोलमा इलामले अग्रता लिएको थियो । खेलको ३३ औँ मिनेटमा वीरगञ्जका भिसोन गुरुङले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्ज्युरी समयको आठौँ मिनेटमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताए । यो खेलको अन्तिम समय निकै तनावपूर्ण बनेको थियो । इलामका गोलकिपर विकेश कुथुले खेल सकिएपछि रेफ्रीसँग विवाद गरेपछि उनले रातो कार्ड पाए ।
त्यसपछि इलामका सबै खेलाडी रेफ्रीसँग विवाद गर्न पुगेका थिए । यो जितसँगै वीरगञ्जले पाँच खेलमा पाँच अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । इलाम छ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा झरेको छ ।