चाँगुनारायण नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


भक्तपुर, २८ मङ्सिर : चाँगुनारायण नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० सुरु भएको छ । चाँगुनारायण नगरपालिका शिक्षा तथा खेलकुद शाखाले आज आयोजना गरेको तीनदिने प्रतियोगिताको नगरप्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो ।
नगरप्रमुख खत्रीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै चाँगुनारायणका विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा लागिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले भविष्यमा बैकुण्ठ मानन्धर, जीतबहादुर केसीजस्ता होनाहार खेलाडी र देशलाई चाहिने राष्ट्रप्रेमी प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म अहिलेका विद्यार्थीबाटै आउने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले जिल्लाका चारवटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नुले भक्तपुर खेलकुदको विकासमा अगाडि बढेको छ भन्ने पुष्टि भएको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले खेलसँगै अनुशासनलाई जोडेर लैजानुपर्ने बताउनुभयो । नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले नगरपालिकाले रोकिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सञ्चालन गरेर खेलकुदको विकासमा विद्यार्थीलाई अभिप्रेरित गरेको चर्चा गर्नुभयो ।
नगर प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने बताउनुभयो ।
प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प, सटफुट, मिटर रिले, त्रिपलजम्प, ज्याभ्लिङ थ्रोलगायतका विभिन्न खेलमा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी ४० विद्यालयका नौ सय ५० भन्दा बढी विद्यार्थी प्रतिस्पर्धामा उत्रिएको शाखाका प्रमुख खड्काले बताउनुभयो ।
प्रतियोगितामा भलिबल फैढोका आधारभूत विद्यालय, तेक्वान्दो र कराते नगरपालिकाको सभाहल, उसु फुल ब्राइट इङ्लिस स्कुल, कबड्डी भद्रकाली कभर्ड हल र एथलेटिक्सका खेल नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा सञ्चालन हुँदै छ ।