`

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गा: प्रधानमन्त्री

Nepal One HD १९ पुष २०८० १७:५९
राजनीति

काठमाडौँ, १९ पुस: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताउनुभएको छ । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताउनुभयो । “यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बङ्गलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ”, उहाँले भन्नुभयो, “अब भारतको ग्रीड प्रयोग गरी बङ्गलादेशसँग विद्युत् व्यापार हुनेछ ।”फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले संसद्को प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम टुङ्गोमा पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमतिको आवश्यकता महसुस गरेको बताउनुभयो । “सानो दुःखले वर्तमान गठबन्धन बनाएको होइन, गठबन्धनलाई मजबुद बनाउन हामी दृढ छौँ”, उहाँले भन्नुभयो, “तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, सदनको प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति चाहेका छौँ ।”प्रधानमन्त्री दाहालले सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति गरेको उल्लेख गर्दै सेवा प्रवाह, शिक्षा, स्वास्थ्यको विकास, कृषि, पर्यटनको प्रवद्र्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिलाई अपिल गर्नुभयो ।‘शान्तिपूर्ण क्रान्ति जारी’नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले आजै रामेछापको बेथान पानीघाटमा आयोजित कार्यक्रममा जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले पनि क्रान्तिमै छौँ क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।”अध्यक्ष दाहालले समाजवाद स्थापनाका लागि सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित वर्तमान सरकार अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री दाहालले बेथानका शहीद तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष दाहालले शहीद स्मारकको उद्घाटन गर्नुभएको थियो ।


प्रतिक्रिया