`

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

Nepal One HD २ माघ २०८० १६:२६
मनोरञ्जन

काठमाडौँ / सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र १ देखि ५ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।

महोत्सवमा ६० देशका ५ सय बढि फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ । महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा बिभाजन गरि दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने निफ आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिए । महोत्सवमा अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशी सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै बिभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने पाठकले बताए । अध्यक्ष पाठकले राम्रा धेरै चलचित्रकाबीच केहि चलचित्र मात्रै छान्न सफल भएको धारणा राखे । महोत्सवका क्रममा आएका सुझावहरुलाई चलचित्र बिकास बोर्डमार्फत सरकारलाई बुझाइने उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले महोत्सवका क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय समूदायबीच अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरेका छन् । उनले महोत्सवलाई बिकास बोर्डले आवश्यक सहयोग गर्ने जिकिर गरे । अध्यक्ष केसीले बोर्डको सिमित अधिकारका कारण नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुराउन समस्या भएको गुनासो गरे ।

महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया