नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : मन्त्री साउद
काठमाडौँ, १३ माघ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताउनुभएको छ ।भारतको ७५औँ गणतन्त्र दिवसका असरमा नेपाल–भारतमैत्री समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्याइने धारणा राख्नुभयो ।
मन्त्री साउदले भन्नुभयो, “दुई देशबीचको सन् १९५० को सन्धि र सीमा बहुआयामिक विषय भएकाले जनताका हित हुनेगरी वस्तुगत र व्यावहारिक भएर निर्णयमा पुग्नुपर्छ ।” दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उहाँले दुवै देशका सीमाक्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औँल्याउनुभयो ।परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि भएका भेटघाट र भ्रमणमा भारतीय नेताहरू र नागरिकमा नेपाल र नेपालीप्रति सहृदय देखेको बताउँदै मन्त्री साउदले सुस्ता र कालापानीका विषयमा पनि भारतीय पक्षले हार्दिकताकासाथ कार्यदलमार्फत काम ठोस रूपमा अघि बढोस् भन्ने मनसाय आफूले पाएको बताउनुभयो ।उहाँले भन्नुभयो, “नेपाल र भारत एउटै सांस्कृतिक विरासतमा रहेका मुलुक हुन् । दुई देशबीच सदियाँै पुरानो अन्योन्याश्रित सम्बन्ध छ । भाषा, भूगोल र संस्कृतिले जोडेको छ, यो सम्बन्ध समृद्धि, विकास र शान्तिका लागि प्रयोग गरिनुपर्छ ।” विगत ७५ वर्षमा आर्थिक विकास र समृद्धिका हिसाबले भारत विश्वका अन्य देशका लागि आदर्शकै रूपमा रहेको बताउँदै मन्त्री साउदले दुवै छिमेकी मुलुक आपसी हितका आधारमा सम्बन्धलाई थप अनुपम बनाएर अघि बढिरहेको उहाँको भनाइ छ ।त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले दुवै देशबीचको सम्बन्ध केन्द्रमा मात्र नभई क्षेत्रगतरूपमा समेत थप प्रगाढ तुल्याउनतर्फ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मानव जातिका सबै चुनौती सामना गर्न नेपाल–भारतबीच मिलेर काम गर्न आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।भारतले औद्योगिकरण, आर्थिक वृद्धि, सूचना प्रविधिको विकासमा ठूलो फड्को मारेको बताउँदै उहाँले समान भाषा र संस्कृति भएको हुनाले दुवै देशले मिलेर सबैखाले चुनौतीलाई सामना गरी अघि बढ्नुपर्ने अहिलेको खाँचो औँल्याउनुभयो ।नेकपा (एमाले)का नेता डा राजन भट्टराईले नेपाल र भारत छिमेकीमात्र नभई बहुआयामिक विशिष्ठतासहितका हितैसी सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतसँग आर्थिक, सांस्कृतिक, समाजिक, सभ्यताका हिसाबले जोडिएका छाँै, त्यो सम्बन्धलाई अहिलेको चेतना र बुझाइअनुरुप परिभाषित गर्दै सुमधुर र प्रगाढ तुल्याउने हिसाबले अघि बढनुपर्छ ।”लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुवै देशबीच भाषा, संस्कृति, धर्म समान रहेकाले विशेषखाले सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारत विश्वमै सम्पन्नतातर्फ उन्मुख भइरहेका बेला छिमेकमा रहेको नेपाल भने विपन्नताबाट स्तरोन्नति हुन नसक्नु चिन्ताको विषय हो । राजनीतिक स्थिरता कायम गरी नेपालले अघि बढ्नुपर्ने अहिलेको खाँचो छ ।”नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले आफ्नो गुरुकुल भारत विकासका दृष्टिले फलेको, फुलेको र फष्टाएको देख्दा खुसी लागेको बताउनुभयो । नेपाल–भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करीले सनातनदेखि नै नेपाल–भारतबीच भेषभूषा, धर्म, संस्कृति र नदीनालाले जोडेको सम्बन्धलाई कसैले चाहँदैमा नडगमगाउने बताउनुभयो ।भारतीय दूतावासका डिसिएम प्रशन्न श्रीवास्तवले सामाजिक र सांस्कृतिक हिसाबले दुवै देशबीचमा जनस्तरमा समेत घनिष्ट र प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा भूकम्पमा समेत भारत र भारतीय जनताले प्रभावित क्षेत्रमा राहत र सहयोग उपलव्ध गराउने अवसर पाएका थिए ।”भारतले शुक्रबार आफ्नो ७५औँ गणतन्त्र दिवस मनायो । समाजले हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा नेपाल र भारतका राजनीतिज्ञ तथा कूटनीति क्षेत्रका बुद्धिजीवीसँग दुई देशबीचका सम्बन्धका विविध आयामबारे छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।
