पार्टीभित्रको मतभेद चिर्दै अघि बढ्नुपर्छ : महामन्त्री थापा
बारा-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएको मतभेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आदर्श कोतवाल गाँउपालिकामा पार्टीले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले पार्टीभित्रको मतभेद अन्त्य गर्दै जनताको अवस्था बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभयो । उहाँले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले कसरी जनतामुखी काम गर्ने भन्ने विषयमा पनि बहस हुने जानकारी दिनुभयो ।महामन्त्री थापाले मधेसमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “मधेसमा जनसङ्ख्या बढ्दो छ भने खाद्यान्न उत्पादनलगायतका क्षेत्रमा पनि ध्यान दिन जरुरी छ ।” उहाँले बाराको निजगढमा चाँडै अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।त्यस अवसरमा स्थानीयहरुले महामन्त्री थापा समक्ष पालिकाले भोग्दै आएका समस्या अवगत गराउनुभएको थियो ।महामन्त्री थापा मेचीदेखि महाकालीसम्मको ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा बारा आइपुग्नु भएको हो । उहाँलाई नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजयशङ्कर यादवले स्वागत गर्नु भएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, बारा जिल्ला सभापति राजेशराय यादव, मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्री बीरेन्द्र सिहलगायतले धारणा राख्नुभएको थियो ।
