सिरिया, इराकमा अमेरिकी हमलाको निन्दा गर्दै रुसद्वारा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ध्यानाकर्षण


रुसले सिरिया र इराकमा अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् मार्फत पछिल्लो घटनाक्रमको तत्काल समीक्षा गर्न माग गरेको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शनिबार बताउनुभएको छ ।
“इराक र सिरियामा रणनीतिक वमवर्षक सहितको अमेरिकी हवाई आक्रमणले, मध्य पूर्वमा अमेरिकी नीतिको आक्रामक प्रकृति र वाशिङ्गटनको अन्तरराष्ट्रिय कानूनको पूर्ण अवहेलना गर्ने प्रवृत्ति देखिएको,” जाखारोभाले टेलिग्राममा उल्लेख गर्नु भएको छ ।
प्रवक्ताले संयुक्त राज्य अमेरिकाले जानाजानी हमला गरेर यस क्षेत्रका ठूला देशहरूलाई द्वन्द्वमा फसाउन खोजेको बताउनु भएको छ ।”हालका घटनाहरूले पुष्टि गर्दछ कि संयुक्त राज्य अमेरिका यस क्षेत्रका समस्याहरूको समाधान खोजिरहेको छैन,” उहाँले भन्नुभयो ।
जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा भएको घातक हमलाको बदलास्वरूप अमेरिकाले शुक्रबार सिरिया र इराकमा रहेको इरानसँग सम्बन्धित मिलिशियाका लक्ष्यहरूमा आक्रमण गरेको थियो।