सङ्घीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैली बन्नुपर्ने :प्रदेशका प्रमुख गुरुङ
गण्डकी, २२ माघ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित बन्नुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशसभाको छैटाँै स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले त्यसो हुनसके मात्र आमनागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो कार्यकालको पनि एक वर्ष बितेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले प्रदेशको स्थापनाका क्रममा जनताले गरेका सबै लक्ष्य र चाहना पूरा गर्ने तथा सङ्घीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने जिम्मेवारी प्रदेश सांसद र सरकारको काँधमा आएको बताउनुुभयो ।
कस्तो कानुन निर्माण गर्ने र त्यसबाट के हासिल गर्ने भन्ने कुरा नेतृत्वकै हातमा रहेको उल्लेख गर्दै उहाँले त्यो जिम्मेवारी प्रदेश सरकार र सांसदलाई गण्डकी प्रदेशवासीले सुम्पिएको बताउनुुभयो । “पहिलो कार्यकालमा प्रदेशका लागी चाहिने धेरै ऐन कानुन निर्माण भएका छन्”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो, “प्रदेशलाई स्थायित्व दिने गरी धेरै कार्यको सुरुवात भएको छ ।
अब तिनै उपलब्धिलाई टेकेर नयाँ अवसर खोज्नुपर्ने दायित्व आएको छ ।” प्रदेशसभाबाट निर्माण हुने ऐन कानुन आमनागरिकका समस्यालाई समाधान गरी जीवनस्तर माथी उठाउने दिशामा केन्द्रित हुने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गर्नुुभयो । जनताले प्रदेश सरकारका माध्यमबाट औद्यौगिकीरण, रोजगारीका अवसरको सृजना, विकास निर्माण, सुशासनको अनुभूति, गास, बास, कपास, शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताको व्यवस्था लगायतमा आश गरेको उल्लेख गर्दै उहाँले त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी रहेको बताउनुुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको मार्गदर्शन अनुरुप संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्ण कार्यान्वयनको प्रक्रियामा आँफूहरू रहेको बताउनुभयो । उहाँले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै प्रदेश सभालाई जीवन्त र जनमुखी बनाइ लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई समावेशी र समन्यायिक तवरले जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता भएको उल्लेख गर्नुुभयो । संविधानवादका दृष्टिले उत्कृष्ट मानिएको वर्तमान संविधानको कार्यान्वयनका लागि प्रदेशसभाको भूमिकालाई एकताबद्ध गरी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता मुख्यमन्त्री पाण्डेले औँल्याउनुुभयो ।
प्रदेशसभाको छ वर्ष व्यतित भइसकेको सन्दर्भलाई मध्यनजर गर्दा प्रदेशसभाले निर्णय गरेका कानुनको सामाजिक, आर्थिक तथा राजनीतिक मूल्यको विश्लेषण गरी तथ्यमा आधारित एवं कार्यान्वयनयोग्य कानुन निर्माणमा चासो र चिन्ता लिनु आवश्यक भएको उहाँले बताउनुुभयो । ‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ मूल ध्येयका साथ दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र स्वीकृत भई प्रदेश सरकार दोस्रो आवधिक योजनाको तर्जुमाको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
उहाँले यसअघिका कमीकमजोरीलाई सच्याएर प्रदेशको समग्र सामाजिक आर्थिक रुपान्तरणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुुभयो । गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संघीयताको सुन्दरता प्रदेश भएको र प्रदेशको औचित्यलाई स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुुभयो । केन्द्रिकृत मानसिकतालाई त्याग्दै सङ्घीयताको मर्म अनरुपअघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
प्रदेशको समुन्नति एवम् प्रदेशको संरचनालाई बलियो बनाउन सधैँ सहयोगी भूमिका निर्वाह गर्ने उहाँले बताउनुुभयो । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेशमा ६० भन्दा बढी कानुन बनिसकेका बताउनुभयो ।
एकल अधिकार सूचिमा रहेका कानुन बने पनि साझा अधिकारको सूचीमा रहेका कानुन बन्न नसकेका अवस्थामा ती कानुन पनि प्रदेशसभाबाट बनाउने गरी लाग्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुुभयो । सुशासनका लागि प्रदेशले भ्रष्टाचार उठ्नै नसक्ने गरी लाग्नुपर्नेमा उहाँले जोड दिनुुभयो । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका पूर्वसभामुख नेत्रनाथ अधिकारी, उपसभामुख विनाकुमारी थापालगायतले आ–आफ्नो धारणा राख्नुुभएको थियो ।
