गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्याउनुपर्छ :मन्त्री डा महत
त्रिशूली (नुवाकोट)- अर्थमन्त्री डा प्रकाशशरण महतले गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पु¥याउनुपर्ने बताउनुभएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले पूर्वाधारको विकास र प्राविधिक एवं आधुनिक शिक्षामार्फत गाउँको विकासमा सरकार केन्द्रित भएको बताउनुभयो ।“विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन”, उहाँले भन्नुभयो, “अहिले विकासको रफ्तार सुरु भएकाले गाउँगाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिमा आधुनिकीकरण गरी उब्जनी बढाएर त्यसलाई सहरमा पु¥याउनु पर्छ ।”लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र हाल सुधारको लयमा फर्किएकाले रोजगार र उद्यमशीलता बढ्ने क्रममा रहेको मन्त्री डा महतको भनाइ थियो । सोहीअनुसार गाउँगाउँमा पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षामा सरकार केन्द्रित भएकाले उक्त अभियान सफल बनाउन उहाँले सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।“शिक्षकले पाठ्यपुस्तक र नोटकपीको भरमा अध्यापन गराउने बानी हटाई प्रविधिमा आधारित शिक्षाबाट आफूले पनि पढेर विद्यार्थीलाई पढाउने बानीको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भौतिक सम्पत्तिभन्दा शिक्षा नै सबैभन्दा ठूलो र अमूल्य सम्पत्ति हो । बालबालिकालाई अध्ययनमा लगनशील बनाउन अभिभावक चिन्तित हुनुपर्छ ।”रोजगारी सिर्जना, व्यावसायिक कृषि उब्जनी र समाज परिवर्तनका लागि शिक्षित जनशक्तिको उत्पादन आवश्यक पर्ने मन्त्री डा महतले बताउनुभयो । सोहीअनुसार आवश्यकताका आधारमा स्रोत र साधनले भ्याएसम्म राज्यले लगानी गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
