`

बजेटको मस्यौदा लेखनको काम सुरु, अत्यावश्यकबाहेक घेटघाटमा नआउन अर्थ मन्त्रालयको आग्रह

Nepal One HD १९ चैत २०८० १०:११
अर्थ समाचार

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआउन आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरेका छन् ।मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि मन्त्रालयले सबैसँग सुझाव समेत मागेको छ । विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ । सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसकेको छ ।तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले १४ फागुनमा प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । वर्तमान अर्थमन्त्री वर्षमान पुनले सोही प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएसँगै दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छन् ।


प्रतिक्रिया