`

निगमको न्यारोबडी जहाजको इन्जिनमा आइरहने समस्याबारे संसदीय समितिको चासो

Nepal One HD १९ चैत २०८० १६:०९
अर्थ समाचार

काठमाडौ । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक समस्या आएपछि संसदीय समितिले चासो व्यक्त गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सोमबार निगमका पदाधिकारीसंग छलफल गर्दै न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक देखिएको समस्याप्रति चासो व्यक्त गरेको हो ।

समितिले १५ दिनभित्र न्यारोबडी इन्जिन प्रकरणमा कुनै भ्रष्टाचार छैन भनि आश्वस्त पार्न निगमलाई निर्देशन दिएको छ । निगमले चित्तबुझ्दो जवाफ नदिए कारवाहीको प्रक्रिया अघि बढाउन बाध्य हुने समिति सभापति राजकिशोर यादवले जानकारी दिए । भ्रष्टाचार भएको जस्तो देखिने निगमभित्रका केहि कामका बिषयमा प्रमाणसहित समितिलाई प्रष्ट पार्न निगमलाई भनिएको सभापति यादवले बताए ।

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको बताए । लिजमा दिनुपर्ने अवस्थामा पनि समयमा नै इन्जिन लिजमा दिन नसकेको उनले बताए । उनले अप्रिलको २२ तारिकसम्म दुई मध्ये एक इन्जिन तयार हुने दावी गरे । अधिकारीले जहाज थप भएको खण्डमा निरन्तर उडान गर्ने भन्दै अहिले नाफा भन्दा पनि राष्ट्रिय दायित्व पुरा गर्न दुर्गम क्षेत्रमा उडान गरेको जानकारी दिए ।

उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले न्यारोबडी जहाजको इन्जिन मर्मत प्रक्रिया स्वभाविक नदेखिएको धारणा राखेका थिए । समिति सदस्य उदय शम्शेर जबराले यहि व्यवस्थापनबाट निगमले अन्तराष्ट्रिय मात्रै नभई राष्ट्रिय वायुसेवा कम्पनीसंग पनि प्रतिष्पर्धा गर्न सक्ने नदेखिएको बताए । त्यस्तै समिति सदस्य योगेश गौचन थकालीले सम्झौता अनुसार सात दिनभित्र इन्जिन बनाउनुपर्ने भएपनि चार महिनासम्म जहाज नै ग्राउन्डेड भएर बस्नुपर्ने अवस्थाको जिम्मेवारी निगमले लिनुपर्ने बताए ।

उडेपनि नउडेपछि पैसा दिनुपर्ने गरि इन्जिन भाडामा लिनुपर्ने अवस्थाले आशंका उत्पन्न भएको उनको भनाइ छ । त्यस्तै अन्य समिति सदस्यहरुले नागरिक उड्ययन प्राधिकरण र निगमको ढिलासुस्तीका कारण युरोपियन युनियनको कालोसूचीबाट हट्न नेपाललाई समस्या भएको धारणा राखेका थिए । यस बिषयमा निगम भन्दा पनि क्यान गैरजिम्मेवार देखिएको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया