इमरान खानलाई राज्यको गोपनीयता चुहाएको मुद्दामा सफाइ


बीबीसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राज्यका गोप्य कुरा चुहाएको अभियोगमा सफाइ पाएका छन् । फेब्रुअरीमा भएको निर्वाचनअघि खानलाई तीनवटा मुद्दामा जेल सजाय सुनाइएको थियो ।
उनले आफूविरुद्ध ती मुद्दा राजनीतिक दुराशयका कारण हालिएको दाबी गरेका थिए । उनलाई एउटा कूटनीतिक दस्तावेज सन् २०२२ मा सार्वजनिक गरेको अभियोगमा मुद्दा परेको थियो ।
उक्त मुद्दामा उनलाई जनवरीमा १० वर्षको जेल सजाय सुनाइएको थियो । इस्लामाबाद उच्च अदालतले उनको पुनरावेदन स्वीकार गर्दै सोमबार सफाइ दिएको छ । तर उनी तत्काल कारागारबाट छुट्ने सम्भावना छैन । सो मुद्दामा खानका विदेशमन्त्री शाह महमूद कुरैशीलाई समेत १० वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनले पनि सफाइ पाएका छन् । पीटीआईका प्रवक्ताले सामाजिक सञ्जाल ’एक्स’मा लेखेका छन्, ‘धन्य ईश्वर, सजाय उल्टियो।’
खान दम्पतीलाई इमरान खान प्रधानमन्त्री हुँदा उनले लिएका उपहारमा भ्रष्टाचार गरेको अभियोगमा पनि अदालतले दोषी ठहर गरेको थियो । पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले विभिन्न राष्ट्रप्रमुखबाट १०८ वटा उपहार प्राप्त गरेको दाबी गरिएको छ ।
तीमध्ये ५८ वटा उपहार खान दम्पतीले आफूसँगै राखेका थिए। त्यस्तो उपहार राख्दा सरकारलाई तिर्नुपर्ने राजस्व कम गर्न ती उपहारको मूल्य कम देखाइएको आरोप उनीहरूमाथि थियो । जेल परे पनि इमरान खानलाई पाकिस्तानको राजनीतिमा शक्तिशाली पात्र मानिन्छ ।
फेब्रुअरीको निर्वाचनमा उनको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टी (पीटीआई)का उम्मेदवारहरू स्वतन्त्र हैसियतमा चुनाव लड्न बाध्य भएका थिए । पीटीआईका स्वतन्त्र उम्मेदवारहरू ९३ क्षेत्रमा विजयी भएका थिए । यद्यपि उनीहरूले बहुमत जुटाउन सकेनन् र प्रतिद्वन्द्वीहरूले मिलेर नयाँ सरकार बनाएका छन् ।