`

भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, मोदीले जनतालाई दिए धन्यवाद

Nepal One HD २२ जेठ २०८१ २३:१९
विश्व

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका साथ सबका विकास’ को भारतको सङ्कल्पको विजय भएको बताएका छन् ।

लोकसभा चुनावको नतिजापछि मंगलबार भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भने, “जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास गरेका छन् ।”

उनले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे ।

प्रधानमन्त्री मोदीले उडिसामा भाजपाको प्रदर्शनको विशेष उल्लेख गरे । त्यहाँ पार्टी पहिलो पटक सरकार गठन गर्न तयार छ । राज्यमा लोकसभा चुनावमा पनि भाजपाले राम्रो प्रदर्शन गरेको छ ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री मोदीले निर्वाचन आयोगको प्रशंसासमेत गरे ।

“आयोगले यो चर्को गर्मीमा यति धेरै दक्षताका साथ यति ठूलो निर्वाचन सम्पन्न गरेको छ । हाम्रा सुरक्षा बलहरूले पनि प्रभावकारीरूपमा आफ्नो काम गरेका छन् । प्रत्येक भारतीयलाई भारतको चुनाव प्रक्रिया र प्रणालीको विश्वसनीयतामा गर्व छ”, उनले भने ।

पार्टी मुख्यालयमा पुग्दा प्रधानमन्त्री मोदीलाई भाजपा कार्यकर्ताले स्वागत गरेका थिए । केही कार्यकर्ताले ‘जय जगन्नाथ’को नारा पनि लगाएका थिए ।

निर्वाचन आयोगको पछिल्लो प्रवृत्तिअनुसार एनडिएले दुई सय ९१ सिटमा अग्रता लिएको वा जितेको छ भने इन्डिया गठबन्धनले दुई सय ३४ सिटमा जित हासिल गरेको छ वा अगाडि छ । भाजपाले आफ्नै बलमा २४० सिट जित्ने तयारी गरेको छ ।


प्रतिक्रिया