`

युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना

Nepal One HD ३२ जेठ २०८१ ८:५६
विश्व

केही गाजावासीले इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएकामा हमासको आलोचना गरेका छन् । घेराबन्दी र सङ्घर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले गाजावासीको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ । 

‘हमासले प्यालेस्टिनी जनताको विनाशको युद्धमा नेतृत्व गरेको छ’, हमास नेतृत्वको प्यालेस्टिनी लडाकूहरू र इजराइलबीचको आठ महिनाभन्दा लामो युद्धका क्रममा दुई पटक विस्थापित भएका ६७ वर्षीय उम्म अलाले भने, ‘हमासका नेताहरूले यो युद्धलाई अन्त्य गर्न र प्यालेस्टिनी जनताको पीडा समाप्त गर्न चासो राखेका भए उनीहरू सम्झौतामा सहमत हुने थिए ।’  उनी दक्षिणी गाजापट्टीको प्रमुख सहर खान युनिसमा शरणको खोजीमा छन् ।

नयाँ युद्धविराममा पुग्न भएको ढिलाइका लागि हमास जिम्मेबार छ भनी एएफपीले गाजावासीहरूलाई सोधेको थियो । 

नोभेम्बरमा एक साताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका छन् । नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजराइली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो । 

मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध समाप्त गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने कोसिसमा इजराइल र हमाससँग वार्तामा संलग्न छन् । 

यद्यपि सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि भय र प्रतिबन्धको वातावरणमा बसेका केही गाजावासी युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मान्छन् । 

उत्तरी गाजामा बस्ने ५५ वर्षीय अबु इयादले भने “हमासले हामीलाई हाम्रो पीडा र जीवनको विनाशको उपहास गरेको छ ।’ उनका तीन छोराछोरी अलग अलग स्थानमा आफन्तसँग बसेका छन् । उने कतारले आयोजना गरेको हमासको राजनीतिक नेतृत्वमाथि निशाना बनाउँदै भने, ‘उनीहरू सुतिरहेका छन्, खाइपिई गरिरहेका छन् ।’

‘के तपाईंले कहिल्यै हाम्रो आजको जीवनलाई वास्तवमै बाँच्ने कोसिस गर्नुभएको छ ?’, इयादले प्रश्न गरे, “हामीले कयौँपटक खाना पाएका छैनौँ भन्नेबारे तपाईंलाई थाहा छ ?’

वासिङ्टन हाल सम्झौताका लागि नयाँ प्रयासमा लागेको छ । यसको रूपरेखा स्वयं राष्ट्रपति जो बाइडेनले मे ३१ मा दिएका थिए तर अहिलेसम्म युद्धरत दुवै पक्षबाट सम्झौता सुरक्षित गर्न बाँकी छ ।


प्रतिक्रिया