`

प्रहरी हुँ भन्दै दुई करोड लुटपाट गर्ने गिरोह पक्राउ

Nepal One HD ११ असार २०८१ १५:१४
अपराध

काठमाडौं । प्रहरीले भक्तपुरको दधिकोटमा सीआइबीको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न सन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई सार्वनिक गरेको हो ।

उनीहरुले यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सीआइबीबाट आएको भन्दै घरभित्र पसी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले परिचयपत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लुटेको रकम भीमबहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया