दूध उत्पादक किसानलाई दिएको ३० करोड स्वार्थ समूहले खर्च गरेकामा मन्त्री साहको आपत्ति

अर्थ समाचार

काठमाडौँ, १४ असार : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सरकारले ऋण लिएर दूध उत्पादक किसानलाई दिएको रु ३० करोड स्वार्थ समूहले तलब, भत्तामा खर्च गर्ने निर्णय गरेकामा आपत्ति जनाउनुभएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ‘समापन तथा नतिजा प्रसार समारोह कार्यक्रम’मा मन्त्री साहले किसानलाई असहज हुने गरी कुनै पनि काम नगर्न निर्देशन दिनुभयो । यसबाट दुग्ध विकास संस्थानले पाठ सिक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री साहले कृषिलाई प्राथमिकता दिने नीतिअनुरुप सरकारले लगानी दशक घोषणा गरेकाले यसमा निजी क्षेत्र सहभागी हुने व्यवस्था गरिएको बताउनुभयो । उत्पादनमा लागेका किसानलाई सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले आयोजनाका माध्यमबाट पशु विकासका क्षेत्रमा प्राप्त उपलब्धि शून्यमा नजाने गरी काम गरिने प्रतिबद्धता जनाउनुभयो । सातै प्रदेशसँग छलफल गरी आयोजनाबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न पहल गरिने उहाँले बताउनुभयो । दूध र खसीको मासु उत्पादनमा आत्मनिर्भर हुन आयोजनाबाट सहयोग मिलेको सचिव मिश्रले बताउनुभयो ।
“आयोजनाको काम समापन हुनु भनेको नयाँ सुरुआत पनि भएकाले दूधको आन्तरिक उपभोग बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । पशु रोगमुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकता दिएको सचिव मिश्रले बताउनुभयो । सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यस वर्ष आइतबारदेखि सकिन लागेको आयोजना निर्देशक वैकुण्ठ अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट