`

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

Nepal One HD २१ साउन २०८१ १५:३०
प्रमुख खबर

बीबीसी । बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् ।

हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् । उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए । सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमबार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो । सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए ।

स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट विमान चढेर देशबाट बाहिर गएका हुन् । हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ । ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो ।

ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको छ । जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ । ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ ।

ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन् । प्रदर्शनकारी र प्रहरीबीच आइतबार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमबार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ ।

नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए। त्यसलाई “ढाकासम्मको लामो मार्च“ भनिएको छ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन् । गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको छ।


प्रतिक्रिया