मध्यपूर्वमा युद्धको आशङ्का बढेसँगै बाइडेनले राष्ट्रिय सुरक्षा प्रमुखहरूसँग भेट्ने


तेहरानमा हमास नेताको हत्याको प्रतिशोधमा इजरायलमाथि इरानको आक्रमणको आशङ्का बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग सङ्कट वार्ता गर्दै हुनुहुन्छ ।
मध्यपूर्वमा अवस्थालाई पूर्णरूपमा युद्धमा रूपान्तरण हुनबाट रोक्ने उद्देश्यले कूटनीतिको हिस्साका रूपमा बाइडेनले जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग फोन वार्ता गर्नुभएको छ ।
इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याप्रति सोमबार चाँडै प्रतिक्रिया दिन सक्ने रिपोर्टहरूले सुझाव दिएपछि संयुक्त राज्य अमेरिकाले इजरायलको समर्थनका लागि यस क्षेत्रमा थप लडाकू जेट र युद्धक विमानहरू तैनाथ गरेको छ ।
विलमिङ्टन, डेलावेयरमा आफ्नो घरबाट एक साताको फिर्तीपछि बाइडेन ‘मध्यपूर्वमा घटनाक्रमहरूका बारेमा छलफल गर्न’ ह्वाइट हाउसको सिचुएसन रूममा आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग भेट्ने ह्वाइट हाउसले बताएको छ ।
बैठक वासिङ्टनको समयानुसार दिउँसो २ः१५ बजे निर्धारण गरिएको छ । उक्त समय तेल अभिवमा राति ९ः१५ र तेहरानमा ९ः४५ बजे हुनेछ । बाइडेनले विलमिङ्टन छाड्नुअघि राजा अब्दुल्लालाई फोन गर्नुभएको ह्वाइट हाउसले बताएको छ ।
इरानले हानियाको हत्याको आरोप इजरायलमाथि लगाएको छ । इजरायलले भने आक्रमणका बारेमा प्रत्यक्षरूपमा कुनै टिप्पणी गरेको छैन । हानियाको हत्या बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएको केही घन्टापछि भएको थियो ।
अमेरिकी समाचार साइट एक्सियोसका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार एक कन्फरेन्स कलमा जि ७ मुलुकका आफ्ना समकक्षीहरूलाई हिजबुल्लाह र इरानबीच संयुक्त रूपमा हुनसक्ने अपेक्षा गरिएको कुनै पनि आक्रमण २४ देखि ४८ घन्टाभित्र हुनसक्ने बताउनुभएको थियो ।