वेस्ट बैङ्कमा आठ जनाको मृत्यु


इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा मङ्गलबार गरेको दुईवटा छुट्टैछुट्टै आक्रमणमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायली सेनाको आक्रमणमा जेनिन क्षेत्रमा चार र टुबास जिल्लामा चार गरी आठ जनाको मृत्यु भएको प्यालेस्टिनी रेड क्रिसेन्ट र रमल्लाहको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले विमानमार्फत जेनिन क्षेत्रमा प्रहार गरेको रिपोर्ट गरेको छ । यद्यपि हताहतको भने कुनै विवरण दिएको छैन ।
अकाबाका बासिन्दाहरूले इजरायली सेनाले बिहानै अमिद घानामको घरलाई घेरेपछि सेना र प्यालेस्टिनी युवाहरूबीच झडप भएको बताएका छन् । झडपमा घानाम र अन्य दुई जनाको मृत्यु भएको र अर्का किशोरको अस्पताल लैजाने क्रममा मृत्यु भएको तुबासका गभर्नर अहमद असदले बताउनुभयो ।
सेनाले अस्पताल क्षेत्रमा प्रवेश गर्दै गर्दा एक किशोरलाई गोली हानेको असदले बताउनुभयो अकाबाका मेयर अब्देल रज्जाक अबु अर्राले एक किशोरलाई आक्रमणमा मारिएको उल्लेख गर्दै यस्तो सुनियोजित अपराध इजरायलीहरूले दैनिक गर्ने गरेको बताउनुभयो ।
गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएदेखि वेस्ट बैंकमा तनाव बढेको छ । वेस्ट बैंकमाथि इजरायलले सन् १९६७ मा कब्जा गरेको हो ।