`

विश्व स्वास्थ्य संगठनद्वारा एमपक्सलाई विश्वव्यापी स्वास्थ्य सङ्कटको घोषणा

Nepal One HD ३१ साउन २०८१ १०:२२
प्रमुख खबर

बीबीसी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ ।

विगतमा मङ्किपक्स भनिने अति सङ्क्रामक उक्त रोगको प्रारम्भिक प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कम्तीमा ४५० जनाले ज्यान गुमाएका छन् । हाल सो रोग मध्य तथा पूर्वी अफ्रिकामा विस्तार भएको छ र वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ‘ज्यादै चिन्ताको विषय भएको’ बताए ।

एमपक्स यौन संसर्ग, छालासँग सम्पर्कमा आउने वा अर्को व्यक्तिको नजिकै बोल्दा वा सास लिँदा नजिकको सम्पर्क कायम भएको अवस्थामा सर्ने गर्छ ।

यसले रुघा खोकी जस्तो लक्षण देखाउँछ। छालामा चोट देखा पर्छ र यो ज्यादै घातक हुनसक्छ। १०० वटा एमपक्सका घटनामध्ये ४ मा ज्यान गएको बताइन्छ ।

एमपक्सका दुईवटा मुख्य प्रकारहरू छन्। त्यसमा ‘क्लेड १’ र ‘क्लेड २’ पर्छन् । यसअघि सन् २०२२ मा पनि एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो। कम घातक ठानिने ‘क्लेड २’ प्रकारको भेरियन्टका कारण त्यस्तो गर्नुपरेको थियो।


प्रतिक्रिया