हुम्लामा सवारी दुर्घटनामा तीन वर्षमा सात जनाको मृत्यु


सिमकोट, (हुम्ला), १७ भदौः जिल्लामा तीन वर्ष अवधिमा ३३ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पाँच वटा सवारी दुर्घटना भएका थिए । सो आवमा एक बालकको जीप दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
आव २०७९/०८० मा विभिन्न दश वटा सवारी दुर्घटना भएका थिए । सो आवमा दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटनामा परेका थिए । सोही आवमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए ।
आव २०८०/०८१ मा १८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई गरी चार जनाले ज्यान गुमाएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । सबैभन्दा बढी यही आवमा दुर्घटना भएको थियो । सो आवमा ३५ जना दुर्घटनाकै कारण घाइते भएका थिए ।