`

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

Nepal One HD ११ असोज २०८१ १७:१३
अर्थ समाचार

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रबार ४५औँ विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे । 

सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरिरहेकाले सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजाने बताए ।

उनले देशको आर्थिक तथा सामाजिक विकासका लागि शान्ति अपरिहार्य रहेको भन्दै शान्ति, सुरक्षाबिना पर्यटनको विकास सम्भव नहुने धारणा राखे । “नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नु आवश्यक छ”, उनले भने, “यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न राज्य र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । 

“यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्नेछ । अहिले विश्वले शान्ति खोजिरहेको छ । त्यसैले ‘पर्यटन र शान्ति’ लाई सँगसँगै लैजाने गरी आधार तयार गर्नुपर्नेछ”, उनले  भने ।

मन्त्री पाण्डेले देशको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन चाहेकाले निजी क्षेत्रको सहयोग आवश्यक पर्ने खाँचो औँल्याए । उनले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई बलियो बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै नीतिगत सुधार र व्यावसायिक बजार योजनासहित निगम सुधार गरिने उल्लेख गरे ।

पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटन प्रवर्द्धन सम्भव हुने धारणा राखे । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौँको लगानी रहेका, करिब १० लाखलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।

होटल व्यवसायी सङ्गीता श्रेष्ठले नेपालमा पर्यटनको सम्भावना बढी रहेकाले पर्यटनबाट आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखिन् । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

दिवसका अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । यसैबीच आजै जजिरा एयरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकलाई विमानस्थलमा स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजित स्वगागत कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले पर्यटकलाई खाँदा तथा बुद्ध मूर्ति प्रदान गरी स्वागत गरेका थिए ।


प्रतिक्रिया