एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग


काठमाडौँ, १६ मङ्सिरः राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनले एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा विभिन्न अवसरबाट वञ्चित रहेको देखाएको छ ।
आज विश्व एड्स दिवसका अवसरमा आयोगले ‘एचआइभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ सार्वजनिक गर्दै सङ्क्रमित तथा उनीहरूका परिवारले यस्तो समस्या भोग्दै आएको देखाएको हो । एचआइभी सङ्क्रमित भई मृत्यु भएका व्यक्तिका सङ्क्रमित श्रीमती, छोरा र छोरीको जन्मदर्ता तथा नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।
जन्मदर्ता तथा नागरिकताकै अभावमा सङ्क्रमित तथा उनीहरूका परिवारले व्यवसाय, रोजगारी, स्वास्थ्य बिमा, अचल सम्पत्ति खरिदजस्ता विभिन्न समस्यासँग सङ्क्रमितहरू जुधिरहेको अध्ययनले देखाउँछ । प्रतिवेदनले अछाम, कैलाली र कपिलवस्तु जिल्लामा यस्तो समस्या देखाएको छ ।
सरकारी निकाय, एआरटी सेन्टर लगायतले तथ्याङ्क प्रणालीमार्फत सङ्क्रमितको गोपनीयताको अधिकार संरक्षण गरिरहे पनि समग्रमा सङ्क्रमितको गोपनीयताको अधिकार सुरक्षित नदेखिएको प्रतिवेदनले देखाएको छ । यसैगरी, सङ्क्रमितले विभिन्न ठाउँमा लाञ्छना र विभेद भोग्दै आएको देखाएको छ । कपिलवस्तुमा स्वास्थ्यकर्मीले कागजातमा ठूलो अक्षरमा एचआइभी सङ्क्रमित लेखिदिने कारण गोपनीयता उल्लङ्घन महसुस गरेको प्रतिवेदनले देखाउँछ । गोरखामा गोपनीयता भङ्ग भएकै कारण विद्यालय शिक्षकले रोजगारी गुमाउनुपरेको उल्लेख छ ।
प्रतिवेदनले मुलुकी अपराधसंहिता २०७४, मुलुकी देवानीसंहिता, २०७४ जस्ता मौजुदा कानुनमा विभेदजन्य भाषा संशोधन गर्नुपर्ने सुझाव दिएको छ । एचआइभी सङ्क्रमण दर नियन्त्रण, अद्यावधिक, जनचेतना, सङ्क्रमितको जीविकोपार्जनलगायत काममा स्थानीय र प्रदेश दुवै तहको सरकारको भूमिका कमजोर देखिएको जनाइएको छ ।
अध्ययनका लागि सङ्क्रमितकै परामर्शमा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तु, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनलाई नमूना जिल्ला छनोट गरी प्राथमिक तथा द्वितीय तथ्याङ्कको सङ्कलन तथा विश्लेषण गरिएको छ ।
भारतमा श्रम गरेर फर्किने नेपाली आप्रावासी श्रमिक र उनीहरूका परिवार, यौनकर्मी, यौनकर्मीका ग्राहक, लागुऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले अध्ययनको मुख्य उद्देश्य एचआइभी सङ्क्रमित व्यक्तिको मानव अधिकारको अवस्था र यसको समीक्षा गर्न प्रतिवेदन सार्वजनिक गर्नाका साथै थप आवश्यक कार्य सम्पादनका लागि सरकारसमक्ष सिफारिस गर्नु रहेको बताउनुभयो ।