राज्यले स्वास्थ्य स्वयंसेवीकाहरुका माग सम्बोधन गर्नुपर्छः अध्यक्ष सिंह


दाङ । नेपाल वान एचडीकी अध्यक्ष मोनिका सिंहले स्वास्थ्य स्वयंसेवीकाहरुका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् ।
नेपाल टेलिकमको साझेदारी तथा नेपाल वान एचडी र ग्लोबल एटु जेड कन्सल्टेन्टको आयोजनामा शनिबार दाङको घोराहीमा आयोजित कार्यक्रममा अध्यक्ष सिंहले राज्यले स्वास्थ्य स्वयंसेवीकाहरुको माग सम्बोधन गर्नुको साटो भाग्न नहुने बताएकी हुन् ।
उनले देशमा ठूलो संख्यामा स्वास्थ्य स्वयंसेवीकाहरु रहेकाले एक भएर आवाज उठाएको खण्डमा राज्य माग सम्बोधन गर्न बाध्य हुने बताइन् । उनले राज्यका निकायले माग सम्बोधनमा बेवास्ता गरे अहिलेको डिजिटल युगमा प्रविधिको प्रयोग गरी माग राख्न सकिने बताइन् ।
उनले भनिन्,‘तपाईंहरुले नेता, मन्त्रीलाई भेट्न खोज्नु होला, तर उनीहरुले समय नदिन सक्छन् । त्यस्तो अवस्थामा सामाजिक संजालका यत्रो प्लेटफर्म छन् । सामाजिक संजालबाट लाइभ गर्नुुस् आफूहरुका समस्याका बारेमा । यसलाई संचारमाध्यमले समाचार बनाउँछन् । सरकारका मन्त्री तथा नेताहरुले पनि हेर्छन् ।’
उनले अब सामाजिक संजालमा समूह बनाएर आफ्ना आवाज बुलन्द पार्ने काम गर्न स्वास्थ्य स्वयंसेवीकाहरुलाई आग्रह गरिन् । उनले अब राजनीतिक नेतृत्व छान्दा पनि आफूहरुको समस्या सम्बोधन गर्न कसले सहयोग गर्यो र कसले असहयोग गर्यो भनेर ध्यान दिन पनि उनीहरुलाई आग्रह गरिन् ।
उनले दाङ जिल्लाबाट प्रदेशदेखि केन्द्रसम्म पटक पटक नेतृत्व पाएको तर त्यसको अभास पाए नपाएको मूल्यांकन गर्नुपर्ने बेला आएको समेत बताइन् । उनले आफूहरुले यो कार्यक्रमको प्रतिवेदन प्रदेशका र केन्द्रका स्वास्थ्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बुझाउने र स्वास्थ्य स्वयंसेवीकाहरुका माग सम्बोधनका लागि पहल गर्ने बताइन् ।