सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सरकारले ल्याएको अध्यादेशकाबारेमा फरक मत राख्न नपाउने भएका छन् ।
शनिबार सिंहदरबारमा बसेको कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको निष्कर्ष निकाल्दै फरक मत राख्न नपाइने निर्णय गरेको हो ।
अध्यादेशबारे आफ्ना सांसदहरुसँग सघन ढंगले छलफल गरी सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण मतले जानकारी दिए ।
उनकाअनुसार बैठकमा मन्त्रीहरुको कामकारबाही र दुई दलले बनाएको संयन्त्रबारे पनि छलफल भएको थियो । बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता महतले जानकारी दिए ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिएका थिए । अध्यादेशलगायतका बिषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ ।