संख्या बढाउँदै पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाइने छ : मन्त्री पाण्डे
काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताउनुभएको छ । ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो र आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।
माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको उहाले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्ने उहाले बताउनुभयो ।
उहाले पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको जानकारी दिनुभयो । हाल २४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन् ।
