`

शीतलहर प्रभावितलाई लहान नगरपालिकाद्वारा एक हजार थान कम्बल वितरण

Nepal One HD १७ माघ २०८१ ८:३५
समाज

सिरहा- सिरहाको लहान नगरपालिकाले शीतलहरबाट प्रभावित यहाँका विपन्न, दलित तथा ज्येष्ठ नागरिकलाई एक हजार थान कम्बल वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीले आज लहान नगरपालिका–२२ बर्छावा टोलका ८० जना नागरिकलाई नगरपालिकाका तर्फबाट कम्बल वितरण गर्दै हालसम्म हजार थान वितरण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्मको शीतलहरले जनजीवन प्रभावित भएको छ । यस्तो मौसममा ज्येष्ठ नागरिकलाई पर्न सक्ने असरलाई दृष्टिगत गर्दै चिसोबाट प्रभावित दलित, गरिब, विपन्न समुदायलाई लक्षित गरी कम्बल प्रदान गरिएको हो ।”

लहान नगरपालिकाका २४ वटै वडामा करिब २० हजारको सङ्ख्यामा दलित समुदायको बसोबास रहेको छ । नगरप्रमुख चौधरीले आवश्यकताका आधारमा विपन्न समुदायलाई खाद्यान्न पनि दिइने बताउनुभयो । यसभन्दा अघि नगरपालिकाले यहाँको रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा आउने विपन्न दलित समुदायका बिरामीलाई चिसोबाट जोगाउन ६५ थान कम्बल वितरण गरेको थियो ।     यसैगरी, सहरी क्षेत्र नजिक रहेका दलित, विपन्न बस्तीहरूमा दाउराको घुर ताप्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया