पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त


पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) सँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्नुभएको छ । साथै उहाँले जारी मुद्दाहरूलाई सम्बोधन गर्न संसदीय समिति गठन गर्ने प्रस्ताव गर्नुभएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।
सङ्घीय मन्त्रिपरिषद् बैठकमा सरिफले पिटिआईको प्रस्तावपछि समिति गठन गरी सुरु भएको पिटिआईसँगको अघिल्लो वार्तालाई सम्झाउनुभयो ।
इमरान खानले स्थापना गरेको पार्टीले राष्ट्रिय सभाको अध्यक्षमार्फत लिखित माग पेस गरेको र सरकारले लिखित जवाफ दिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । तर पिटिआईले २८ जनवरीको निर्धारित बैठक रद्द गर्यो ।
प्रधानमन्त्री सरिफले लिखित मागको लिखित जवाफ दिनु तार्किक भएको बताउनुभयो ।
सन् २०१८ को चुनावपछि विपक्षीहरू कालो पट्टी बाँधेर संसद्मा प्रवेश गरेपछि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले चुनावसँग सम्बन्धित चिन्ताको छानबिन गर्न संसदीय समिति गठन गर्न पहल गरेको उहाँले बताउनुभयो ।
द एक्सप्रेस ट्रिब्युनका अनुसार पिटिआईले कहिल्यै न्यायिक आयोग गठन नगरेको तर एउटा समिति गठन गरेको उहाँले बताउनुभयो ।
पाकिस्तानका प्रधानमन्त्रीले सन् २०१८ र २०२४ मा भएको चुनावको अनुसन्धान गर्न र तथ्यहरू बाहिर ल्याउन नयाँ समिति गठन गर्न वार्ता पुनः सुरु गर्न र मिलेर काम गर्न पिटिआईलाई आह्वान गर्नुभयो ।
यसअघि बुधबार पिटिआई अध्यक्ष ब्यारिस्टर गोहर खानले सरकारलाई जानाजानी संवादबाट बच्ने र पार्टीको न्यायिक आयोग गठनको माग बेवास्ता गरेको आरोप लगाउनुभएको थियो ।
बुधबार रावलपिन्डी कछेरी बाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले पिटिआईले औपचारिक रूपमा सरकारलाई उहाँहरूको प्रमुख चिन्ताहरू सम्बोधन गर्न न्यायिक आयोग गठन गर्न अनुरोध गरेको बताउनुभयो । तर सरकारले उहाँहरूको मागको जवाफ दिएन ।
“उनीहरू वार्ता होस् वा समाधान होस् भन्ने चाहँदैनथे”, उहाँले अधिकारीहरूलाई जानाजानी वार्तामा ढिलाइ गरेको आरोप लगाउँदै भन्नुभयो, “हामीले हाम्रा मागहरू प्रस्तुत गर्यौँ तर सरकारले कुनै गम्भीर कदम चालेको छैन । यदि तिनीहरू इमानदार थिए भने, तिनीहरूले समयमै जवाफ दिने थिए ।”
गोहर अली खानले अधिकारीहरूले जनवरी २८ सम्म समिति कक्षमा जवाफ दिने वाचा गरेको बताउनुभयो ।
यद्यपि उहाँले पिटिआईलाई निर्णयको बारेमा अग्रिम विवरण नदिइएको बताउनुभयो । इमरान खानले स्थापना गरेको पार्टीले राजनीतिक दबाबको सामना गरे पनि वार्ता प्रक्रिया सुरु गरेकोमा उहाँले जोड दिनुभयो ।
पाकिस्तान राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकले मङ्गलबार चौथो चरणको वार्ताका लागि पिटिआई र सरकारका प्रतिनिधिहरूलाई आमन्त्रित गर्नुभएको थियो तर पिटिआईका प्रतिनिधिहरू बैठकमा सहभागी भएनन् ।
पछि पाकिस्तान सरकारले आफ्नो वार्ता समितिले जनवरी ३१ सम्म पर्खने भन्दै यदि पिटिआईले वार्ता समाप्त गर्ने आफ्नो निर्णय परिवर्तन गर्यो भने प्रक्रिया पुनः सुरु हुनसक्ने घोषणा गर्यो ।राजनीतिक तनावलाई सम्बोधन गर्न सरकार र विपक्षीबीच डिसेम्बरमा वार्ता सुरु भएको थियो । एक्सप्रेस ट्रिब्युनका अनुसार त्यसबेलादेखि दुवै पक्ष तीन पटक भेटेका छन् ।