`

‘ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको ’अपमान’

Nepal One HD २० माघ २०८१ १०:३०
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामग्रीहरूमा कर लगाएपछि मेक्सिकोकी राष्ट्रपति कलाउडीया सेनाबाउमले कडा भाषामा अमेरिकी निर्णयको प्रतिवाद गरेकी छन् ।

सामाजिक संजाल एक्समा लेख्दै उनले ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको ‘अपमान’ गरेको बताएकी छन् । ट्रम्प प्रशासनले मेक्सिको सरकार र मेक्सिकोका लागुपदार्थ कारोबारी संस्थाहरूबीच ‘अमान्य किसिमको गठजोड’ रहेको आरोप लगाएका थिए ।

‘यदि त्यस्तो गठबन्धन अस्तित्वमा छ भने यस्ता आपराधिक समूहहरूलाई शक्तिशाली अस्त्रहरू विक्री गर्ने काम अमेरिकी बन्दुक उत्पादकहरूले गर्छन्,’ उनले लेखेकी छन् ।

मेक्सिकोले हालैका वर्षहरूमा त्यस्ता सङ्गठित गिरोहहरूलाई रोक्न गैरकानुनी ढङ्गले हुने हतियारको तस्करी रोक्न माग गर्दै आएको थियो ।

उनले मेक्सिको मूठभेडको पक्षमा रहेको भन्दै आफूले दुवै देशका अधिकारी सम्मिलित संयुक्त कार्यदल बनाएर जनस्वास्थ्य र सुरक्षाका क्षेत्रमा काम गर्न प्रस्ताव गरेको पनि उल्लेख गरिन् ।

तर मेक्सिकोकी राष्ट्रपतिको सबैभन्दा महत्त्वपूर्ण घोषणा अन्त्यमा रहेको थियो। उनले देशका अर्थ सचिवलाई ‘प्लान बी’ अर्थात् वैकल्पिक योजना कार्यान्वयनमा ल्याउन आदेश दिइन् । त्यसमा ‘मेक्सिकोको स्वार्थ रक्षाका लागि आयातमा लाग्ने शुल्क र भन्सारबाहेकका व्यवस्था’सहितका बारेमा निर्णय गर्न आदेश दिइन् ।

यस्ता कदममा अमेरिकी उत्पादनमा २५ प्रतिशत आयात शुल्क हुने अपेक्षा गरिएको छ। मेक्सिकोकी राष्ट्रपतिले त्यो आफ्नो सरकारको जवाफी प्रतिक्रियाको मुख्य पक्ष हुने बताउँदै आएकी छन् ।


प्रतिक्रिया