`

अन्तरनिकायँसग समन्वय गरेर काम गर्न ऊर्जामन्त्रीको निर्देशन

Nepal One HD ४ फागुन २०८१ २०:३३
राजनीति

काठमाडौँ, ४ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरनिकायसँग समन्वय गरेर विकास निर्माणको कामलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बैठकमा मन्त्री खड्काले अन्तरनिकायसँग समन्वय नहुँदा कतिपय काम हुन नसकेको भन्दै अन्तरनिकाय समन्वयलाई ध्यान दिन निर्देशन दिनुभएको हो ।

“जति कामप्रति चासो राख्यो, पहलकदमी लियो, त्यति नै चाँडो काम हुने हो, मुलुक निर्माणका लागि दत्तचित्त भएर लाग्नुहोस्, आफू मातहतका कर्मचारी बिदामा बस्दा माथिल्लो तहलाई जानकारी हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । राज्यले ठूलो लगानी गरेर उत्पादन गरेका कर्मचारी बिदामा बस्दा वा काममा ढिलाइ गर्दा राज्यलाई ठूलो नोक्सानी हुने उहाँले बताउनुभयो ।

मन्त्री खड्काले अन्तरनिकायबीच आपसमा समन्वय नहुँदा लापर्वाही हुने गरेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । “जति दिन रहने हो, त्यति दिन इमान्दार भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले लिएको लक्ष्य पूरा गर्न कर्मचारीको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले स्रोत सुनिश्चित भइसकेका आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

छलफलमा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले सिंहदरबारभित्र चार्जिङ स्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई समन्वय गर्न निर्देशन दिनुभयो । उहाँले बैठकमा भएका निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडीले मन्त्रालयले ६ महिना गरेको कार्यप्रगति सन्तोषजनक नभएको बताउनुभयो । उहाँले खर्च हुन नसकेको बजेटलाई खर्च हुने ठाउँमा स्थानान्तरण गरेर काम गर्नुपर्ने बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले अहिलेको अवस्थामा काममा खुसी हुनुपर्ने ठाउँ नभएको बताउनुभयो । उहाँले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गर्नुभयो ।

छलफलमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतले ६ महिनामा भएको भौतिक तथा वित्तीय प्रगतिको जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया