`

सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल

Nepal One HD ७ फागुन २०८१ २१:१४
राजनीति

काठमाडौँ, ७ फागुन : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सहिदका सपना पूरा गर्न मुलुकमा सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यक रहेको बताउनुभएको छ ।

सम्मानित नेता खनालले ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा राज्यशक्तिको स्रोत जनतामा निहित हुनुपर्ने मान्यतालाई स्थापित गरेको ऐतिहासिक दिनमा सहिदको सपना पूरा गर्न वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले समाजमा शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र विकृति विसङ्गतिको अन्त्य गरी सहिदले कल्पना गरेको जनताको सुख, शान्ति तथा समृद्धिको लागि वैज्ञानिक समाजवादको खाँचो औँल्याउनुभयो ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया