परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान
राजनीति
काठमाडौँ, १० फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।
उहाँलाई आज साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नुहुनेछ ।
भ्रमणका क्रममा उहाँले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नुहुनेछ ।
मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुन्छ । उहाँ यही फागुन १६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
