`

चिसापानी–मङ्गलसेन सडक स्तरोन्नति सुरु गर्न मुख्यमन्त्रीको निर्देशन

Nepal One HD ३ वैशाख २०८२ १९:५७
राजनीति

लम्की (कैलाली), ३ वैशाखः चिसापानी–मङ्गलसेन सडकखण्डको १६ किमी सडक स्तरोन्नति सुरु गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय वनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन सम्झौता भएसँगै मुख्यमन्त्री शाहले सो निर्देशन दिनुभएको हो ।

आज मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कैलालीको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने चिसापानी–मङ्गलसेन सडकखण्डसँग सम्बन्धित पक्षसँगको छलफल पछि स्तरोन्नति सुरु गर्न निर्देशन दिनुभएको थियो । छलफलमा सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर प्रकाश खड्का, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल, वन निर्देशनालय सुदूरपश्चिम प्रमुख हेमराज विष्ट, मोहन्याल गाउँपालिका–७ का वडाध्यक्ष नवराज कठायत, युवा नेता नेत्र भण्डारीलगायतको सहभागिता थियो ।

मङ्गलबार चिसापानी–मङ्गलसेन सडकखण्डमा पर्ने राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभागबीच सम्झौता भएको थियो ।

“चिसापानी–मङ्गलसेन सडकखण्ड परापूर्वकालदेखि हटेरु बाटोका रुपमा परिचित छ”, बैठकमा मुख्यमन्त्री शाहले भन्नुभयो, “पिता पुर्खाहरुको नासोका रुपमा रहेको यस सडकखण्डको स्तरोन्नति गरी जनतालाई विकासको प्रत्याभूति गराउनु पर्दछ ।” उहाँले २०२४ सालमा स्व हरिप्रसाद भण्डारीले मङ्गलसेनसम्म मोटर गाडी पु¥याउनु भएको स्मरण गराउनुभयो । 

सडक डिभिजन कार्यालय महेन्द्रनगर, डिभिजन वन कार्यालय पहलमानपुर र वन निर्देशनालय सुदूरपश्चिमले बिहीबारदेखि काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना, निर्माण व्यवसायी र वन मन्त्रालयबीच त्रिपक्षीय समन्वयमा काम सञ्चालन गर्नुपर्ने निर्णय बैठकमा गरिएको छ ।

प्रदेश गौरवको योजनाभित्र रहेको यस सडकलाई चालु आर्थिक वर्षमा प्रदेश सरकारले स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिका–७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि रु २१ करोड ७३ लाख, साँघुरे खोलामा मोटरपुल निर्माणका लागि रु १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि रु १० करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया