अहिलेको चुनावी प्रणालीमा मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताएका छन् ।
शनिबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सरकारका कमजोरी सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।
उनले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए। उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए ।
उनले भने, ‘समावेशी र समानुपातिकताको कारण कसैको पनि बहुमत पुग्न सम्भावना छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर, बहुमत छैन र अहिलेको सरकारमा केही कमी कमजोरी होलान, त्यसमा सुधार्दै जानुपर्ने छ ।’
सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिलेपनि टीकाटिप्पणी हुनु ठूलो कुरा नभएको बताए ।